के छ मुलुकी अपराध (संहिता) ऐनमा ? - ramansansar.com

ramansansar.com

Connected to your community...

Breaking News

st

Monday, August 20, 2018

के छ मुलुकी अपराध (संहिता) ऐनमा ?

सामाजिक तथा राजनैतिक प्रणालीमा आएको परिवर्तनसँगै कानुनी व्यवस्थाहरूमा समेत व्यापक परिवर्तन गर्ने क्रम प्रारम्भ भएको छ । मस्यौदामै लामो समय खर्चिएर प्रमाणीकरण गरिएका मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन एवं मुलुकी देवानी (कार्यविधि) संहिता ऐन २०७५ भदौ १ गतेदेखि लागू हुँदैछन् । यी ऐनले ५४ वर्षअघि जारी भएको मुलुकी ऐन– २०२० लाई प्रतिस्थापन गर्नेछन् । यहाँ मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा रहेका विभिन्न विशेषतामाथि चर्चा गर्न लागिएको छ ।
अफवाह फैलाए १ वर्ष कैद 
नयाँ कानुनले गलत अफवाह फैलाउनेमाथि पनि सजायको व्यवस्था गरेको छ । परिच्छेद २ को दफा ७० मा कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता र भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभएको–नगरेको हल्ला फैलाएको, प्रचार—प्रसार गरेको वा नारा जुलुस गरेको पाइए एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । संहिताले मसाल जुलुसमाथि समेत बन्देज लगाएको छ । संवेदनशील सार्वजनिक क्षेत्र भनि तोकिएको स्थानमा सार्वजनिक शान्ति भंग गर्ने नियतले मसाल जुलुस, आगोजन्य वा प्रज्वलनशील वस्तु लिई सभा– जुलस गरे–गराए ६ महिना कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 
खाद्य पदार्थमा मिसावट 
कसैले खाने, पिउने वा सेवन गर्ने पदार्थमा खान, पिउन वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान, पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन, बिक्री वितरण गर्न वा म्याद नाघेको वा मिसावट भएको खाद्य पदार्थ बिक्री वितरण गर्न वा निर्धारित स्तरभन्दा न्यून स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ बिक्री वितरण वा पैठारी गरे ५ वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । 
पशुपन्छीलाई छाडा 
छोड्न नपाइने 
संहिताले पशुपन्छीलाई छाडा छोड्न पनि बन्देज लगाएको छ । कसैले आफ्नो वा 
आफ्नो नियन्त्रण वा जिम्मामा रहेको कुनै पशुपन्छी अर्काको घर, जग्गा वा सार्वजनिक बाटोघाटो वा सार्वजनिक स्थलमा छाडा छोडे ३ महिनासम्म कैद तथा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । 
वेश्यागमनमा रोक 
संहिताले वेश्यागमनको प्रचारमा पनि रोक लगाएको छ । वेश्यागमनका लागि प्रचार–प्रसार गर्ने–गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको छ । यस्तै, वेश्यावृत्ति वा वेश्यागमनका लागि जानीजानी घर, जग्गा, सवारी साधन उपलब्ध गराए ६ महिना कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । संहिताले अश्लील पुस्तक, पर्चा, चलचित्र, तस्बिर, रेकर्ड गर्न वा बनाउन तथा बिक्री गर्न समेत रोक लगाएको छ । यस्तो कार्य गरे एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । यद्यपि वैज्ञानिक, शैक्षिक, कलात्मक र साहित्यिक, अनुसन्धानमूलक, ज्ञानबद्र्धक महत्व एवं अभिरुचिको वा धार्मिक प्रयोजनका लागि राखिएको वा बनाइएका कृतिका हकमा भने यो कनुन लागू हुने छैन । 
संहिताले सार्वजनिक स्थानमा यौनांग देखाउने, अश्लील शब्द बोल्ने वा इशारा गर्नेलाई पनि कानुनी सजायको व्यवस्था गरेको छ । त्यस्तो गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । सार्वजनिक स्थानमा यौन क्रिया गर्न रोक लगाउँदै सहिंताले सार्वजनिक स्थानमा अरू मानिसले देख्ने गरी कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 
सट्टेबाजीमा १ वर्ष कैद 
पहिलो पटक जूवा खेल्ने वा खेलाउनेलाई ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक जूवा खेल्ने वा खेलाउनेलाई एक वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यस्तै जूवामा प्रयोग भएको साधन र जूवाबाट बरामद सम्पूर्ण चल–अचल सम्पत्ति जफत हुनेछ । यस्तै, सट्टाबाजीसम्बन्धी संहितामा भनिएको छ, ‘कसैले कानुन बमोजिम खेल्न–खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारे वा जिते कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापे सट्टाबाजीको कसुर गरेको मानिनेछ,’ सट्टाबाजीमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 
भिक्षा माग्नेलाई १ वर्ष कैद
भिक्षा माग्ने वा माग्न लगाउने कार्यलाई पनि संहिताले रोकेको छ । कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न प्रोत्साहन दिए त्यस्तो व्यक्ति सजायको भागी हुनेछ । पहिलो पटक भिक्षा माग्नेलाई एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि प्रत्येक पटक २ महिना कैद वा २ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तै, पहिलो पटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना र दोस्रो वा तेस्रो पटकदेखि प्रत्येक पटक ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था गरिएको छ । यसमा कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पराअनुसार घर–घरमा भिक्षा मागे वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लागि भिक्षा मागिएको छ भने त्यसलाई कसुर मानिएको छैन । 
धर्म परिवर्तन गैरकानुनी 
संहिताले धर्म परिवर्तनलाई पनि गैरकानुनी ठह्याएको छ । परिच्छेद ९ को १५८ दफामा कसैले धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा प्रोत्साहन गरे कसुर गर्ने वा गराउने ब्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । यस्तो कसुर गर्ने ब्यक्ति विदेशी भए कैद भुक्तान गरेको सातदिनभित्र नेपाल बाहिर पठाउनुपर्ने व्यवस्था छ । 
हाडनाता र बहुविवाहमा रोक 
संहिताको परिच्छेद ११ मा विवाह कसुरसम्बन्धी विभिन्न व्यवस्था गरिएका छन् । मन्जुरी बिनाको विवाहलाई गैरकानुनी मान्दै संहिताले त्यस्तो विवाह बदर हुने व्यवस्था गरेको छ भने त्यस्तो कसुर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यस्तै, उक्त परिच्छेदको दफा १७३ मा २० वर्ष नपुगी गरेको विवाहलाई बालविवाह ठह्याएको छ । यस्तो विवाह स्वत: रद्द हुनुका साथै ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुनसक्छ । यस्तै संहिताले हाडनाता विवाहमाथि पनि प्रतिबन्ध लगाएको छ । यस्तो विवाह गरे हाडनाता करणीको कसुरमा हुने सजाय तथा गराउनेलाई ३ महिना कैद वा ३ हजार रुपैयाँ जरिवाना हुनुका साथै त्यस्तो विवाह स्वत: रद्द हुनेछ । 
संहिताले बहुविवाहमा बन्देज लगाएको छ । बहुविवाह गरेको प्रमाणित भए एक वर्षदेखि ५ वर्षसम्म कैद वा १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । पति–पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भैसकेको अवस्थामा पुरुष तथा महिलालाई पुन: विवाह गर्न कानुनले 
रोकेको छैन । 
जबर्जस्ती करणीमा उमेर अनुसार सजाय 
मुलुकी संहिताले जबर्जस्ती करणीमा विभिन्न सजायको व्यवस्था गरेको छ । जसअनुसार १० वर्षभन्दा कमकी बालिकामाथि जबर्जस्ती करणी भए १६ देखि २० वर्षसम्म, १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ देखि १६ वर्षसम्म, १४ वर्ष वा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म, १६ वर्ष वा १६ वर्षसभन्दा माथि १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म तथा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिना भए ७ वर्षदेखि १० वर्षसम्म कैदको सजाय हुनसक्छ । पुरुषले आफ्नी श्रीमतीसँग पनि जबर्जस्ती यौन सम्बन्ध राखे त्यो पनि दण्डनीय हुनेछ । वैवाहिक सम्बन्ध कायम गरिएकी आफ्नै श्रीमतीसँग इच्छाविपरित जबर्जस्ती करणी गरे ५ वर्षसम्म कैद सजाय भोग्नुपर्ने हुनसक्छ ।
नोटमा लेख्न नपाइने 
मुलुकी संहिताको परिच्छेद २२ को दफा २६३ मा बैक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न, कोर्न बन्देज लगाएको छ । त्यस्तो गर्नेलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । 
गोपनीयता भंग गर्न नपाइने 
मुलुकी अपराध (संहिता) ऐनले गोपनीयता विरुद्धको कामलाई कसुर घोषणा गर्दै अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने तथा तस्बिर खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय तोकिएको छ । ऐनको दफा २९३ (१) मा भनिएको छ, ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिकाबीच भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरूको मन्जुरी बिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्ता कुराको ध्वनि अङ्कन गर्नुहुँदैन् । 
अनुमति बिना तस्विर 
खिच्न नपाइने
दफा २९५ मा अनुमति बिना कुनै ब्यक्तिको तस्विर खिच्न वा तस्बिरको स्वरुप विगार्न पनि बन्देज लगाइएको छ । ‘कसैले कुनै व्यक्तिको अनुमति बिना निजको तस्बिर खिच्न वा निजको तस्बिर अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउनु हुँदैन्,’ संहितामा भनिएको छ । त्यस्तो गरे १ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यद्यपि सार्वजनिक स्थानमा तस्बिर खिच्दा कसैको तस्बिर देखिँदा भने यो कानुन लाग्ने छैन् । 
यस्तै, कसैको तस्बिरको केही भाग अर्कोे ब्यक्तिको अर्को भागसँग जोडेर वा अन्य कुनै किसिमको विकृत रूपको तस्बिर बनाउन वा प्रकाशन गर्न पनि रोक लगाइएको छ । त्यस्तो गरे दुई वर्ष कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । 
ब्लफ कल गर्नेलाई 
दुई वर्ष कैद 
संहिताका दफा २९९ मा ब्लफ कल गर्नेलाई दुई वर्ष कैद वा २० हजार रुपैयाँसम्म सजायको व्यवस्था गरिएको छ । ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, 
धोका दिने र हैरान पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न–गराउन हुँदैन ।’ 
यस्तै, दफा ३०० मा कसैलाई डर, त्रास, वा दु:ख वा हैरानी दिने, अपमान वा बेइज्जती गर्ने बदनियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्काउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गरे एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 
अरूको घरमा पस्न नपाइने 
अरूको घरमा अनधिकृत रूपमा प्रवेश गर्न पनि कानुनले बन्देज लगाएको छ । त्यस्तो कसुर गरेको ठहरिए ३ वर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने संहितामा व्यवस्था छ । 
सार्वजनिक सेवा 
अवरूद्ध गर्न नपाइने 
संहिताले कसैले सार्वजनिक विद्युत् वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानुनबमोजिम सार्वजनिक सेवामा सञ्चालनमा कुनै किसिमको डर, त्रास देखाइ बन्द गरे वा अवरुद्ध पारे ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको ब्यवस्था गरेको छ । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here