Raman Bohaju |
नेपालमा प्रायः राजनैतिक दलको उदय र
विकासको आधार नै विभिन्न समयमा घटेका किसान आन्दोलनलाई लिने गरिन्छ।
विभिन्न किसान आन्दोलनबाट तयार भएका नेतृत्व वर्ग अहिले देशको शासनसत्ताको
बागडोर सम्हालेर बसेका छन्। किसान आन्दोलन नहुँदो हो त नेपाली राजनीतिको
स्वरुप कस्तो हुन्थ्यो होला यसै भन्न सकिने अवस्था छैन। कृषिप्रधान देशमा
कृषक आफै एक छाक मकै, अर्को छाक भोकै बस्नुपर्ने अवस्थाका कारण बाध्य भएर
किसान आन्दोलन चर्केको यथार्थ पनि हो। किसान आन्दोलनबाटै चीनको शासनसत्ता
परिवर्तन भएको थियो। नेपालको किसान आन्दोलनको कुरा गर्दा भक्तपुरको किसान
आन्दोलन अग्रपंक्तिमा आउँदछ। यसैको पृष्ठभूमी, ऐतिहासिक महत्त्व र तिनले
पारेको प्रभाव आदिको विषयमा क्रान्तिकारी भावनाले ओतप्रोत स्रष्टा सुरेश
बखुन्छेले पुस्तकमार्फत चिरफार गर्ने प्रयास गरेका छन्।
किसान आन्दोलनमाथि गरिएको खोजमूलक
दस्तावेज 'भक्तपुरको किसान आन्दोलनको अर्थ – राजनीतिक विश्लेषण' लेखक
बखुन्छेको शोधपत्रमा आधारित पुस्तक हो। लेखक बखुन्छेको परिश्रम, मेहनतको
पसिनाले पुस्तकका पाना निथु्रक्कै भिजेर ओजपूर्ण बनेका छन्। यसका किसान
आन्दोलका भुक्तभोगी, नेतृत्वकर्ताहरुको अन्तर्वार्ता, प्रत्यक्ष भेटघाट,
अनुभवले पुस्तकलाई जीवन्तता र इतिहासको जस्ताको तस्तै व्याख्या गर्न
खोजिएको छ। यसैगरी विषयवस्तु, लेखनशैली र प्रस्तुतीकरण मार्क्सवादी
सिरकभित्र समाजशास्त्रीय दृष्टिकोण गुटमुटिएर रहेको प्रशस्त देख्न सकिन्छ।
भक्तपुरको किसान आन्दोलनको आफ्नै स्वरुप,
महत्त्व र विशेषता रहेको पाइन्छ। किसान आन्दोलनसँगसँगै राजनीतिक आन्दोलनलाई
अगाडि बढाएको देख्न सकिन्छ। अझ अगाडि बढेर भन्ने हो भने अन्यत्रभन्दा सफल
किसान आन्दोलन यहाँ भएका कारण सबैभन्दा बढी मोहीयानी हक सुरक्षित भयो
भक्तपुरका किसानहरुको जीवनस्तरमा उल्लेखनीय परिवर्तन सम्भव भएको व्यहोरा
लेखक तत्कालीन अगुवा किसान नेता गोविन्द दुवालको भनाइ सापटी लिंदै लेख्छन्।
भक्तपुरको किसान आन्दोलनको लेखाजोखा गर्ने क्रममा यसको सफलताका कारणबारे
कहींकतै उल्लेख गर्न पाएको भए सुगन्ध थप्ने थियो।
वि.सं.१९९३ जेठ २० गते गठित नेपालको पहिलो
दल नेपाल प्रजा परिषद्ले विस्तारै राजनैतिक गतिविधि गर्ने क्रममा
राणाशासनविरुद्ध एकजुट हुन आव्हान गर्दै भक्तपुरमा पहिलोपटक पर्चाबाजी
गरियो। यो नै भक्तपुरको शान्त तलाउमा पहिलो राजनीतिक आन्दोलनको तरंग थियो।
त्यसपछि घटनाक्रम सिलसिलेवार रुपमा रोचक ढङ्गले प्रस्तुत गर्न लेखक सफल
देखिन्छ।
राजा महेन्द्रले ०२१ सालमा भूमिसुधार लागू
गरेका थिए। उक्त भूमिसुधार कार्यक्रमलाई किसानविरोधी नीति, शाही कदम भन्दै
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले बहिष्कार गरका थिए। तर, भक्तपुरमा भने
उक्त नीतिको सकारात्मकता देखेर उपयोग गर्ने नीतिअनुरुप किसान आन्दोलन
चर्केको थियो। यसरी किसान सङ्घर्षमा लागेका नेता कार्यकर्ताले खेतखलिहानमा
पुगेर मोही नाम लेखाउन सफल भई आफ्नो जग्गा सुरक्षित भएको थियो। यसैक्रममा
किसान नेता गोविन्द देवालको अनुभव उद्धृत गरी लेखक लेख्छन्,– 'किसान
आन्दोलनबाट सुरक्षित गरिएको मोहीयानी हकबाट प्राप्त जग्गा–जमिन अहिले ५०–६०
लाख पर्ने भएको छ।'
किसान आन्दोलन यतिमा मात्र सीमित
देखिंदैन। २०१९ सालको साढे धपाउने आन्दोलन, २०२१ सालको मोहीयानी हक
आन्दोलन, २२ सालको भर्पाइ आन्दोलन, बाली बाट्ने आन्दोलन, भ्रष्टाचारविरोधी
आन्दोलनलगायत थुप्रै आन्दोलनको अनुभवसहित सिलसिलाबद्ध रुपमा व्याख्या गरेका
छन्।
पुस्तकमा किसानद्वारा गरिएको वर्गसङ्घर्ष,
किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, सरसफाइ आन्दोलनलगायत विभिन्न
सङ्घर्षहरुको स्मरण गराइएको छ।
'भक्तपुरको अबको दिशा' उपशीर्षकमा लेखक
बखुन्छें निकै सुझबुझपूर्ण ढङ्गले लेख्छन्– 'तर विस्तारै जग्गा जमिन
खण्डीकरण हुँदैछन्। अव्यवस्थित सहरीकरण, प्लानिङ, हाउजिङ आदिका नाममा
किसानले भन्दा बिचौलियाले फाइदा लिन थालेको पाइन्छ। स्थानीय किसानहरुको
तुलनामा बाहिरी जिल्लाबाट बसाइँ सरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै छ।'
२० को दशकमा उठेका आन्दोलनको प्रभाव
युगौंयुगसम्म रहनेमा कुनै शङ्का छैन। तर, यो विजयको इतिहास, पुस्तान्तरण
हुनैपर्छ। नयाँ पुस्तामा अग्रजको गाथाबारे जानकारी हुनैपर्छ। यसरी पुस्तकले
नयाँ पुस्ताका बीच सेतु बाँध्ने काम गरेकोमा कुनै विवाद छैन। जसको अध्ययन
मात्रले पनि युवा–विद्यार्थीमा जागरण पैदा हुन्छ। पुस्तकको गाता आकर्षक छ
लेखक सुरेश बखुन्छेप्रति साधुवाद ! आगामी दिनमा यस्तै पुस्तकको अपेक्षा
पाठकले राख्नु स्वाभाविक हो। प्रकाशकको गहन अभिभारा बोक्नुहुने युथ सोसाइटी
फर वेलफेयरको कार्य सराहनीय छ। मूल्य ३५० महँगो भन्न मिल्दैन।
No comments:
Post a Comment