रमण बोहजु |
‘ग्वाहालि......ग्वाहालि...’ एक्कासि चारैतिरबाट गुन्जिएको शब्द यही थियो ।
के भएको हो ठ्याक्कै ठम्याउन सकिनँ । हेरिरहेको टि.भि.ले आफ्नो रुप देखाउन छोड्यो । नभन्दै घर एककिसिमले पिङ खेले जस्तै हल्लिन थाल्यो । मातानबाट छिडिमा पुग्ने बितिक्कै छिमेकीका घरहरु एकपछि अर्को गर्दै तासको महल भत्के झै गल्र्यामगुर्लुम ढले ।
युद्धकालीन स्थितिभन्दा कम खतरनाक थिएन मानौं अमेरिकी साम्राज्यवादले भक्तपुरमा वमवर्षा गरिरहेको छ । प्रायःले जिउने आस मारिसकेका थिए । छिमेकी आशमती बज्यै सपरिवार पुरिएकोमा भक्कानिदैं थिए । उद्वार गर्न युवाहरु दिलोज्यानले नतम्सिको होइन । पटक–पटकको आङसिरिङै पार्ने पराकम्पनले जसोतसो ज्यान जोगिएका हामीमा कताकता डरले डेरा जमाएको थियो । उता छलकृष्ण दाइले अरुलाई उद्वार गर्ने क्रममा पराकम्पनले आफ्नो ज्यान समेत गुमाउनु परेको हृदयविदारक खबरले मेरो आँखा रसाउनु स्वाभाविक थियो ।
‘हल्लियो...हल्लियो फेरि हल्लियो....लौ हेर्दाहेर्दै ढल्यो....सब सत्यानाश भयो..हे भगवान्..अब पुग्यो ।’–बुढी औंलाले धर्ती थिच्दै सानुमाया काकी अत्तालिदैं भनिन् ।
जीवनमा थुप्रै सानाठूला कम्पन पार गरिसकेका ९२ वर्षीया तुल्सीमाया खायमली खम्बाको आड लिइ भक्कानिदैँ थिइ–‘यतिविध्न हल्लिएको त पहिलो पटक महसुस गर्दैछु । अब सब खतम हुने भयो ।’
नभन्दै सुन्दर टोल, मन्दिर जस्तो घर निमेष भरमै मसान जस्तो हुनगयो । भागाभाग, दौडादौड, यत्रतत्र ढलेका घर, प्रलयको भेलमा पुरिएका लास, दूध खाने बच्चा देखि सयौंको एकै चिहान भएका कहालीलाग्दो समयको साक्षी म स्वयं थिए । लाग्छ– यो सबै सपना भइदेओस् ।
अहँ बहिरो दैवले कहिल्यै दिनहीनको चित्कार सुन्नेवाला छैन भन्ने कुरा मनमनै सोच्दै गर्दा सरोज दाइको स्वर सुनें । निकै हतासमा देखिएका सरोज दाइ एकोहोरो ‘कल्पना’, ‘कल्पना’ भन्दै थिए । सेतो कपडाले बेरिएकी कल्पना भाउजुको विरुप अनुहार देख्दा हृदयको चिच्याहट आँसु बनी छचल्किए ।
म एक्लै बरबराई रहे । सबतिर हाहाकार, चित्कार मच्चिएको थियो । पुरै सम्पर्कविहीन अवस्थामा थियौं । स्ट्रेचर, एम्बुलेन्स, ट्रिपर दौडिरहेको थियो । वडाका प्रायः राजनीतिक तथा सामाजिक कार्यकर्ता स्वयंसेवामा तत्परता देखाइरहेका थिए । तर, प्रिन्स नाउँको उरन्ठेउलो केटो चाहीँ घाइटेसँग सेल्फी खिच्न मै व्यस्त भएको देख्दा कताकता रिसको पारो नचढेको होइन । एउटा ईट उठाउँछ । सेल्फी खिच्छ, एउटा बलो तान्छन् सेल्फी खिच्छ । फेसबुकमा सयौं फोटो अपलोड गर्छन् । कामभन्दा कुरो बढी गर्ने उनको बानी । खासै ध्यान नदिई मलगायत केही साथीहरु आफ्नै बाटो लाग्यौं ।
गल्ली गल्लीबाट लासको पोको ल्याउने क्रम रोकिएको थिएन । रश्मीला, सविता बहिनीसँगको अन्तिम स्पर्श चिसो भएकोले आस मारिसकेका थियौं । अझै कति पुरिएर अन्तिम सास फेर्दै निस्सासिरहेको होलान् । कतिले पीडाको चित्कार, भगवान्सँगको अन्तिम याचना गर्दै होलान् यस्तो बेलामा जोखिमपूर्ण गल्लीभित्रै छिरी खोतलखातल गरी सबैलाई नयाँ जीवन दिन आँट नजागेको होइन । तर, अफसोस शिरैमाथि तरबार झुण्डिरहेको झै भित्र छिर्न उतिकै जोखिमपूर्ण थियो ।
१२ बैशाखको विनाशकारी भूकम्पपश्चात वडा नम्बर २ को मोटामोटी शब्द चित्रण यस्तै थियो । करिब ४० जनाको लासको बिस्कुन लहरै देख्दा जतिसुकै कठोर मनले भन्न बाध्य पार्छ । कठैबरा दैव साँच्चिकै निष्ठुरी रहेछ । घामै नछिर्ने गल्लीभित्रका करिब ....वटा पुराना प्रविधि तथा आयु सकेका घर निमेषभरमै खण्डहरमा परिणत भएका थिए । पार्टी कार्यकर्ता महेन्द्र दाइ उत्तिकै सतर्क मुद्रामा हुनुहुन्थ्यो र उहाँले स्वयंसेवामा खटिन र भग्नावशेष पन्छाउन युवाहरुलाई पटक पटक निर्देशन दिनुहुन्थ्यो ।
भागाभाग र दौडादौड अनि उद्वार कार्य गर्दागर्दै झिमिक साँझ परेको होसै भएन । अँध्यारोमै टर्चलाइट बालेर ताहामला गल्लीमा जोखिमपूर्ण हुदाँहुँदै आर्मीले नसकिने भयो भनेर त्यतिकै छोडेको एक १९ वर्षीय केटीको मित्र राजारामको सहयोगमा सफलतापूर्वक उद्वार गरकोमा सन्तोषको सास फेर्दै गर्दा मित्र रविको मुमा अझै अत्तोपतो नभएको अनि देवेन्द्रको दिदी कृष्णलक्ष्मी दिदीको पुरै घर खोतलखातल गर्दा पनि भेटाउन नसकिएकोमा मन अझै चिन्तित भइरहेको थियो । उता वडा नम्बर ४ क्वाठण्डौका ६ महिने सोनिस अवालको २२ घण्टापछि सकुशल उद्वार गरिएकोमा मैले सन्तोषको सास फेरें–‘हजारौं जीवन गुमाएर, कलिलो जीवन बचाएकोमा ।’
हाम्रो रात ख्यलय् (महेश्वरी स्थानमा) पाल टाँगेर बित्दै थियो । क्षणक्षणमा कम्पन आइरहेको थियो । सबै टोलको परिवार एउटै पालमुनि भएकोले राम्रोसँग पल्टिन सक्ने अवस्था पनि थिएन । यसैक्रममा एक बुढ्यौली उमेरकी छोरीमाया प्रजापतिको आँखाबाट बरर्र आँसु झर्ने क्रम रोकिएको थिएन । रोकियोस् पनि कसोरी अव यसपछिका दिनहरु भ्mन् काँडासरी बिझ्ने छन् । एक छोरा र लोग्ने गुमाएकी छोरीमाया क्षणक्षण खित्का छोडेर रुन्थिन । हामी उनलाई धैर्य रहन ढाडस दिन्थ्यौं ।
‘जीवन साँच्चिकै क्षणभंगुर छ । त्यो क्षणभंगुर संसारमा अरु केही छैन । जुनसुकै बेलामा हामी मर्न सक्छौं । घर ढलेर, गाडीले किचेर, पहिरोले पुरेर क्षणमै जीवन चुँडिनसक्छ ।’– मैले भनें ।
अर्का एक आइमाईले छोरीमायाको आँसु पुछ्दै भनिनँ–‘हेर्नोस् काकी आज दिउँसो भूकम्प जाँदा नजिकैको सुवर्णमैयाँ देवालीको जुठो माझ्दै थिइन् । उनको आठ महिनाको छोरो घरभित्र कोक्रोमा सुतेका थिए । भूकम्पको धक्कासँगै ती आमा हुर्रिएर घरभित्र छिरिन्, छोरो बचाउन । एक–दुई मिनेटमै कोक्रोबाट छोरो च्यापेर बाहिर दर्गुन खोज्दा आमाको घुचुक्कमै गारो खस्यो । आँखाबाट गुच्चा बाहिर निस्केकी आमा र उनकै बलियो अँगालोमा धुलोमो हराएको मणिजस्तै लाग्ने छोरा दुवै मृत अवस्थामा भेटिए । आमा मरिन् तर मातृत्व अमर रहिन् ।’
यो सुनेर खै किन हो छोरीमाया झन् खित्का छोडेर रुन थालिन्–‘क्वाँ..क्वाँ ।’
कतै आफ्नै मातृवत्सल्य पो सम्झिन कि । खै किन हो थाहा छैन? भूकम्पको धक्का र उनको चित्कारले हाम्रो हृदयको तलाउमा पनि कम्पन पैदा गरेको थियो ।
‘हो, छोरीमाया, आँखा चिम्लिन नपाउँदै हजारौंको जीवन माटोमा मिले । हजारौं परिवारले मुटुको टुक्रा गुमाउनप¥यो । यस्तो समयमा धैर्य रहनु नै उत्तम उपाय हो ।’–विष्णुलक्ष्मीले जोडिन् ।’
‘म ८० वर्षीय बुढी कहाँ जाउँ, के गरुँ । खित्का छाड्दै छोरीमायाले भनिन्–‘अब मेरो हड्डीभित्र कुनै बल बाँकी छैन । मसँग अब पुग्नको लागि दिवंगत लोग्नेको ठेगाना पनि छैन र बस्नको लागि ओत लाग्ने घर पनि छैन । दुई सन्तानलाई पाठेघरको न्यानो ओछ्यानमा हुर्काएँ आज दुवैले छोडेर गयो ।’
भूकम्पमा परी लोग्ने र सुरेश दाइ दुईजनाको मात्र मृत्यु भएको होइन र ? अन्तिम सहारा रन्जन दाइ त बाँकी छ नि !?
‘नामै नलिनु त्यसको । मेरो लागि जिउँदै मरिसकेको छ त्यो पापी, अधर्मी, स्वार्थी । मैले हुर्र्काएको सन्तान भन्नै घृणा लाग्ने । छिः ।
‘रन्जन दाइ पढेलेखेका छन्, पेशाले वकिल हुनुहुन्छ । धनसम्पतिमा कुनै कमि छैन । यस्तो गुणवान छोरोले तपाईलाई पक्कै स्याहारसुसार गर्ने छन् काकी धुक्क हुनुहोस्’–मैले ढाडस दिएर भनें ।
‘हो, सम्पतिमा कुनै कमि छैन, पढेलेखेका पनि छन् ।’–छोरीमाया वास्तविक कुरा बताउने शैलीमा भन्न थालिन्–‘लोभले लाभ, लाभले विलाप भन्ने जस्तै उसको त्यो आफ्नै सम्पति भने होइन । कान्छो छोरो सुरेशको पसिनाको कमाइँ हो ।’
कुरा अलि गहिरो छ तर सच्चाइँ यही हो । छोरीमाया सुनाउँदै गइन्–‘साह्रै असल मेरो कान्छो छोरो स्कूल जान थालेदेखि एकसुको खर्च माग्दैनथ्यो । सबै आफै जोहो गर्न सक्ने एकदम सिपालु । हातमा छवाली कलाको सिप उनमा बच्चैदेखि थियो । उल्टै कमाएको पैसाले दाजु चाहीँलाई वकिल पढाउन खर्च गर्दथे । आफू विदेश गएर पठाएको भएभरको पैसाले दाजुचाहीँले ईट्टाभटामा लगानी गरे । दाइ झन् झन् धनी बन्दै गए । भाइ सुरेश जब एउटा हात काटिएको अवस्थामा स्वदेश फर्के । दाइले पूख्यौली सम्पति समेत बाँडफाँड गरी भिन्नै बसे । हात काटिएको बिरामी छोरो र हामी दुई बुढाबुढी बसेको पुरानो घर सहित अहिले सर्वनाश भयो । लोभी, स्वार्थी छोरो अहिले लिवालीमा आलिशान महलमा आनन्दले बसिरहेको छन् ।’
एकतमासले कुरा सुनिरहेका सवेको आँखा त्यसैत्यसै छचल्किए । मनमनै गम्दै थिएँ–‘आफुलाई परेको समयमा आफन्तले साथ देलान्, भन्ने आशा राख्नु मूर्खता सिवाय केही होइन । नसोचेकोले गर्लान् तर आफ्ना भनाउँदाले सहयोगको नाममा माखो मार्दैनन् ।’
®®®
त्यो रात चहलपहल र दौडादैडमै बित्यो । हनुमान घाटमा लास दहन गर्नेहरु थपिदैं थिए । चारैतिर रुवाबासीको वर्णन गरी साध्य छैन ।
लोकप्रिय साहित्यकार रामशेखर दाइ बिरामी अवस्थामा यही महेश्वरीस्थानमा पालमै हुनुहुन्थ्यो । हेरविचार, स्याहारसुसार गर्ने कोही थिएन । भूकम्पमा घर भत्किंदा रामशेखर दाइ बालबाल बाँचे । माथिबाट खसेको दलिनले किचिनबाट थोरैले मात्र बचे ।
कुनै जमाना लोकप्रिय नाटक, कथा लेखेर चर्चामा चुलिएका रामशेखर दाइ घरबारविहिन, सहाराविहीन अवस्थामा अस्थायी टहरोमा जीवनको अन्तिम प्रहर जिउँदै गर्दा पापी र दुष्ट समाजप्रति घृणाभाव उत्पन्न हुन्छ ।
®®®
भोलि बिहानै सेना–प्रहरी र नागरिकहरु उद्वारमा जुटिसकेका थिए । मिडियाले लाइभ प्रसारण गरिरहेका थिए । जताजता टि.भी, क्यामरा तेस्र्यायो उताउता प्रिन्स, रक्सनको टोली देखिन्थ्यो । पाँचवटा एनजिओ÷आइएनजिओ एउटै झोलामा बोकेर राहतको नाममा देखावटी समाजसेवा गरेका थिए । जस्तापाता, पाल, बिस्कुट र चाउचाउ किन्न विभिन्न पसलमा जान्छ । एक कार्टून किन्छ । दस कार्टूनको बिल बनाउँछ । एक ठाउँमा गएर एक पोका बाँड्छ । सयौं फोटो खिच्छ फेसबुकमा हाली डलर बटुल्छ । साँझ परेपछि भट्टीको शोभा बढाउन जान्छ । साथमा, मन्त्रीका पीए र गुन्डानाइके हुन्थ्यो ।
च्ुानावमा वडा नम्बर २ कब्जा गर्ने अभिप्रायले भूकम्पलाई निहुँ बनाएर अन्धाधुन्ध राजनीतिक प्रहार गरे । बस्ने नमिल्ने जस्तापाता बाँडे । आफ्नै खर्च गरेको भनी निमुखासामु पु्रुषार्थ देखाए ।
रेडियो, टिभी र पत्रपत्रिकामा उसकै समाचार छयापछयाप्ती छापिने अनेक प्रचारबाजी गरे ।
सरकारले भूकम्पपीडित उद्वार तथा राहत वितरण कार्यमा उत्कृष्ट योगदान गरेबापटको पुरस्कार, पदक प्रिन्स र रक्सनलाई दिने घोषणा गरे । विचल्लीमा परेका रामशेखरदाइ जस्ता आदरणीय व्यक्तित्व विचलि मै परे । भगनावशेष पन्छाउन दिनरात मेहनत गर्ने कैयौं समाजसेवी छाँयामा परे ।
प्रिन्स र रक्सनले रातारात खेततिरको झुपडी भत्काए । राहतको लोभमा पूर्ण क्षतिको विवरण भर्न लगाए । स्वास्नीलाई गोही बनाए । जहाँगएपनि गोहीको आँसु चुहाउन लगाए–‘हाम्रो त घरबास सबै उठीबास भयो । सब सत्यानाश भयो ।’
राहतकै लोभमा साँझ परेपछि त्रिपालमुनि गुड फ्राइडे मनाउँथे । एक रात दाल, भात पालमुनि ल्याएर मासु र बियर चियर्स गरे । सबैलाई बियरको नशा लागिसकेको थियो । आफुले आफैलाई थाम्न नसक्ने अवस्थामा सबै त्यही जस्ताको तस्तै मस्त निदाए ।
छोरीमायालाई भूकम्पपछिको रात सजिलै निन्द्रा लाग्ने कुरै थिएन । धेरै रात आफ्ना दिवंगत लोग्नेर प्रिय छोरो सुरेशलाई गुमाउनु पर्दाको क्षण सम्झँदै रात काट्थी । त्यो रात उनी च्यातिएको पाललाई जोरजाम गरी टाङ्गिएकी मात्र के थिई एकाएक डरलाग्दो हावाहरी चल्यो । पाल सजिलै उडायो । सबै भागाभाग भए । छोरीमाया बज्यै मेरो सहारामा सुरक्षित स्थानमा पुग्ने बितिक्कै मुसलधारे बर्षा भयो । अझैसम्म पनि रक्सीले मातेकाहरु होसहवासमा थिएन । नभन्दै खहरे खोला अस्थायी टहरामुनी पस्यो । बज्यैको सापारु गाइजात्राको निम्ति भनेर जोहो गरी राखेको सामग्री खोलोुसँगै बगायो ।
प्रिन्स र रक्सन मस्त निन्द्रामै थिए । खोलाको भेल बढ्दैथियो । बिस्तारै उनीहरु बगाउँदै लगियो । बल्ल प्रिन्सले आफु चिसिदै गएको चाल पाएर उठ्न खोज्दा आफुलाई खोलाको छेउमा पाए । रक्सन र उनकी श्रीमती कहाँ हराए अत्तोपतो थिएन । कति चिच्याए, कति रोए, कराए कसैले सुन्नेवाला थिएन ।
झरी रोकिएको थिएन । एक्कासि अजङ्गको सर्पले टोकेर प्रिन्सले त्यही अन्तिम श्वास फेरे । रक्सन र उनकी श्रीमती कहाँ पुगे अत्तोपतो पाएन ।
®®®
भोलिपल्ट पानीको भेल रोकिने बितिक्कै महेश्वरीमा आश्रित सम्पूर्ण परिवारलाई लिवालीस्थित खुल्ला ठाउँमा सारियो । शिविर सार्दा राहत नपाउने देखेर केही परिवार सर्न मानिरहेका थिएनन् ।
विभिन्न दाताले दिएको चामल, नुन, तेल, दालको भरमा गुजारा चलाएका छौं हामी त यो ठाउँ छोडेर जान्नौं भनेर जिद्दी कसे ।
ती अबुझ प्रति लक्ष्यित गर्दै छोरीमायाले भनिन्–‘हामीलाई सहयोग नचाहिने होइन चाहिन्छ, घर बनाउनेभन्दा बढ्ता खानेकुराको सहयोग भयो । खाएर मात्र भएन । यसले हामीलाई अल्छी र परनिर्भर बनाएको छ । ओत दह्रो भएन भने मान्छेलाई निन्द्रा नलाग्ने रहेछ । म त गए तिमिहरु चाँडै आइहाल ।
शिविरकै वयोबृद्ध छोरीमायाले सबैको आँखा खोलिदिए । उनकै पछिपछि जान सबै राजी भए ।
८५ वर्षीय छोरीमायाको भूकम्पले घरमात्र होइन लोग्ने र छोरो चुडाइदियो । हावाहुरीले त्रिपाल उडायो । यो उमेरमा केही गर्न सक्ने अवस्था थिएन । यस्तै असहायको निम्ति भनेर वडाकै युवाजोशका दिनेश, हरि, सुनिल, प्रज्वल, साजन, गोपाल लगायत मिलेर टहरा बनाइदिए ।
®®®
समयको वेगसँगै १२ वैशाखको विनाशकारी भूकम्पले टहसनहस पारेका वडा नम्वर २ का वडाबासीले शोकलाई शक्तिमा बदल्दै साविककै लयमा फर्कने बचन लिएर अगाडि बढिरहेका छन् ।अस्तु ।
No comments:
Post a Comment