भक्तपुर– वरिष्ठ संस्कृतिविद् ओमप्रसाद धौभडेलले सापारु–गाईजात्रा मल्लकालीनभन्दा पनि गोपालवंशी समयमा नै तत्कालीन नेपालमण्डलको राजधानी भक्तपुरमा यसको प्रचलन सुरु भएको व्यहोरा व्यक्त गरे । साथै, उनले भक्तपुरको गाईजात्रा अन्यत्रभन्दा पृथक रहनुको कारणबारे जिज्ञासा मेट्दै उपत्यकाका तीन तत्कालीन राज्यका मल्ल राजाबीच प्रतिस्पर्धा हुँदा घिन्ताङघिसि ताल पाटन र कान्तिपुरकाले नक्कल गर्न नसकेकोले भक्तपुरको जात्रा विशेष महत्व भरिपूर्ण भएको बताए ।
मंगलबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगर समितिको आयोजनामा भएको विद्यार्थीहरु अन्तरसंवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सो अवसरमा उनले जागरुक युवा–विद्यार्थीले आफ्नो संस्कृतिमा जीवन्तता थप्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार गाईजात्रा एक पर्व नभई मृत्युसंस्कार अन्तर्गत प्रेतात्मा शान्त पार्न दुःखको समयमा मनाउने संस्कार हो ।
संस्कृतिविद् धौभडेलका अनुसार तत्कालीन मल्ल राजपरिवार उदारवादी भएकोले राज्यव्यवस्था सम्बन्धी कामकाजमा यस दिन खुलेर व्यङ्ग्य कस्न छट दिएका उल्लेख गर्दै वर्तमान समयमा पनि युवा विद्यार्थी राजनीतिक विसंगति विकृतिमाथि सुधारको अपेक्षा गर्दै व्यङ्ग्य कस्न आव्हान गरेका छन् ।
आयोजक समितिका अध्यक्ष रमण बोहजूको सभापतित्वमा सम्पन्न अन्तरसंवादमा नेमकिपा भक्तपुरका राजकृष्ण गोरा, सरजु फसिक्वा लगायतले राष्ट्रिय–अन्राष्ट्रिय विसंगतिमाथि व्यङ्ग्य कस्ने भक्तपुरको गाईजात्रा आफै आयातित संस्कृतिले विकृत बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
स्मरणीय छ, भक्तपुरमा आठ दिन नौ रात जात्रा मनाइन्छ । टोल, टोलमा भैल नाच, महाकाली नाच, देवी नाच, फाकंदली ना, ख्याल, प्रहसन लगायत दर्जनौ प्रस्तुति देखाउने गरिन्छ । भक्तपुर नगरपालिकाले प्रोत्साहन स्वरुप प्रतिस्पर्धामा नगद पुरस्कारको व्यवस्था गर्दा अहिले यहाँका टोल संगीतमय, नाचमय बनेको छ । समग्रमा भक्तपुर यसैको माहोल तातिरहेको देख्न सकिन्छ ।।
No comments:
Post a Comment